संक्रमण बढ्दै गएपछि भारतमा आजबाट खुकुलो पार्ने भनिएको लकडाउन अन्योलमा

वैशाख ८, २०७७

भारतमा जारी लकडाउन आजबाट केही खुकुलो पार्ने तयारी भइरहेका बेला कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ । भारतमा कुल संक्रमितको संख्या १७ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ ।

 संक्रमण उच्च देखिएपछि आज मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने /नगर्नेमा अन्योल देखिएको छ । संक्रमणदर बढी भएका र जोखिम बढी देखिएका क्षेत्रमा तत्काल लकडाउन खुकुलो नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताउनुभएको थियो ।  


प्रतिक्रिया