विश्वका ८ करोड बालबालिका दादुरा, पोलियो, भ्यागुते रोगको जोखिममा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७७

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण विश्वका ८ करोड बालबालिका दादुरा, पोलियो, भ्यागुते रोग लगायतका संक्रमणको जोखिममा पर्नसक्ने प्रतिवेदन सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ, युनिसेफ, तथा खोप उत्पादन गर्ने संस्थाहरुको संगठन गाभीले संयुक्त विज्ञप्ती जारी गर्दै ६८ मुलुकका १ वर्ष मुनीका बालकालिका प्रभावित बन्न सक्ने चेतावनी दिएको अलजजिराले उल्लेख गरेको छ । आगामी जुन ४ तारिखमा विश्व खोप सम्मेलन हुँदैछ ।

 बन्दाबन्दीका कारण समयमै खोप उपलब्ध हुन नसक्नु, उपलब्ध भएपनि अधिकांश अभिभावक घरबाट बाहिर निस्कन सक्ने स्थिती नहुनु वा जोखिमका कारण निस्कन नचाहनु लगायतका कारण जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सन् १९७० पछि पहिलो पटक यस्तो किसिमको स्वास्थ्य संकट देखा पर्नसक्ने अवस्था आएको हो ।   


प्रतिक्रिया