बेलायतमा सोमबारबाट लकडाउन खुकुलो पारिंदै

जेष्ठ १९, २०७७ | काठमाडौं

बेलायतमा विगत ९ सातादेखि जारी लकडाउन सोमबारबाट खुकुलो पारिने भएको छ । सरकारले सम्भव भएसम्म जनजीवन सामान्य बनाउन आफ्नो योजना सहित निर्देशिका सार्वजनिक गरेको छ । 

कोरोनाको संक्रमण फैलन नदिन लागू गरेको लकडाउन चरणबद्ध रुपमा खुकुलो गर्ने योजना अनुरूप प्राथमिक विद्यालय र खुद्रा पसल खुला गरिएको छ । त्यसैगरी, बढीमा ६ जना सम्मलाई सामूहिक भेटघाट गर्न दिइएको छ । त्यसका लागि कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्नेछ । 

घरभित्र जमघट गर्न वा अन्यत्र रात बस्न भने पाइने छैन । यो नियम इंग्ल्यान्डमा मात्र लागू हुनेछ । बेलायतका अन्य राज्यमा पनि क्रमिक रूपमा खुकुलो पारिँदै छ । सरकारी नियम उल्लंघन गरे प्रहरी वा स्थानीय निकायले १ सयदेखि ३ हजार २ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ । 

सरकारले चिकित्सा विशेषज्ञ र व्यावसायिक खेल संस्थासँगको लामो छलफलपछि नयाँ निर्देशिका पनि प्रकाशित गरेको छ । जसअनुसार सुरक्षा सुनिश्चित भए आजदेखि प्रतिस्पर्धात्मक खेल बन्द रंगशालाभित्र सुरु हुनेछन् । 

कहिलेदेखि प्रतिस्पर्धा सुरु गर्ने भन्नेमा सम्बन्धित खेल संस्थामै भरपर्ने छ । तर, ब्रिटिस सरकारलाई सल्लाह दिइरहेका वैज्ञानिकहरुले इंग्ल्यान्डमा लकडाउन हटाउँदा हुने जोखिम कायमै रहेको चेतवानी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार साँझसम्म ६० लाख ९० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।


प्रतिक्रिया