कर्फ्युबीच अमेरिकाका दर्जनौं सहरमा प्रदर्शन

जेष्ठ १९, २०७७ | काठमाडौं

एक अश्वेत नागरिकको हत्या प्रकरणको विरोधमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएपछि अमेरिकाका दर्जनौं सहरमा कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिइरहेको सीएनएनले जनाएको छ । १६ राज्यका कम्तीमा ३० सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका छन् ।

 २५ सहरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा उत्रेका सीएनएनले जनाएको छ । प्रदर्शनकारीले प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । दंगा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । 

कतिपय सहरका पसलहरूमा लुटपाट भएको छ भने प्रदर्शनकारीले प्रहरी कार्यालय तथा भवनहरू तोडफोड गरेका छन् । सीएनएनका अनुसार क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, न्युयोर्क, ओहायो,लगायत राज्यका २५ सहरमा कर्फ्यु लगाइएको छ ।

 एक प्रहरी अधिकारीको ज्यादतीका कारण अफ्रिकी मूलका जर्ज फ्लोइडको ज्यान गएपछि त्यसको विरोधमा अमेरिकाका विभिन्न सहरमा विरोध प्रदर्शन गरिएको हो । हत्यामा संलग्न ४४ वर्षीय पूर्वप्रहरीलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ । 

अधिकारीहरूले उनलाई आज अदालतमा पेस गरिने जनाएका छन् । घटनापछि उनीसहित ४ जना प्रहरीलाई बर्खास्त गरिएको थियो भने घटनास्थलमा रहेका अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् । 


प्रतिक्रिया