वार्ताको आश गर्नु अमेरिकाको भूल हुने उत्तरको चेतावनी

असार २०, २०७७ | काठमाडौं

उत्तर कोरियाले अमेरिकासँग पुन: वार्तामा बस्न आवश्यक नभएको बताएको छ । अमेरिकका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आगामी अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताउनु भएको थियो ।

राष्ट्रपति ट्रम्पले यस्तो भताएसँगै उत्तरका उप–विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताउनुभएको हो । 

कोरियाली समाचार संस्था केसीएनएले सार्वजनिक गरेको चोएको विज्ञप्तिलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ, प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महसुस गरेको छैन, सपना देख्नेहरु ‘अक्टोबरको आश्चर्य’ का लागि आशावादी बनेका छन् । तर, अमेरिकाले आफ्नो पक्षका लागि उपलब्धीमूलक वार्ता चाहन्छ भने त्यो उसको भूल हो ।

उत्तर कोरियाले विस्तृत रणनीतिक समय तालिका सहित अमेरिकाबाट हुन सक्ने सम्भावित खतराको सामना गर्न तयारी गरिसकेको उप विदेशमन्त्री चोएले विज्ञप्तिमा उल्लेख गरेको रोयटर्सले जनाएको छ । 

अमेरिकाले वार्तालाई राजनीतिक संकट समाधानका लागि औजारका रूपमा प्रयोग गर्ने बाहेक अन्य केही नचाहेको चोएको दाबी छ । ट्रम्प र किमबीच भियतनामको हनोईमा गत वर्ष भेटवार्ता भएको थियो । जुन विष्कर्षबिहीन बनेको थियो । सोही वार्तापछि उत्तर कोरिया थप भड्किएको हो ।   


प्रतिक्रिया