कोभिड–१९ विरुद्धको भ्याक्सिनको मानवमा परिक्षण गरिने

असार २८, २०७७ | अष्ट्रेलिया

अस्ट्रेलियाको ब्रिसबनमा सोमबारदेखि कोरोना भाइरस (कोभिड – १९) विरुद्धको भ्याक्सिन मानवमा परिक्षण गरिने भएको छ । स्थानीय युनिभर्सिटी अफ क्वीन्सल्याण्डद्धारा अनुसन्धान गरेर विकास गरिएको भ्याक्सिनले भाइरस विरुद्ध लड्नका लागि महत्वपुर्ण कदम हुने जनाइएको छ ।

जनावरमा गरिएको परिक्षण सफल देखिएपछि भ्याक्सिनलाई मानवमा परिक्षण गर्न लागिएको सञ्चारमाध्यमले जनाएका छन् । क्युन्सल्याण्ड राज्यकी प्रिमियर एनास्टेसिया पालसेले युनिभर्सिटी अफ क्वीन्सल्याण्डले भ्याक्सिन अनुसन्धानमा गरेको मेहनतको प्रशंसा गर्दै सोमबार यसबारेमा थप जानकारी पाउने बताएकी छिन् । ‘हामीसँग उत्कृष्ट वैज्ञानिक छन् र यो सुरुवाती चरण हो तरपनि हामी विश्वविद्यालयले भ्याक्सिनको अनुसन्धानमा गरेको कार्यबाट अत्यन्तै प्रोत्साहित भएका छौं ।’ उनले भनेकी छिन् ।

क्वीन्सल्याण्डमा सोमबारदेखि गरिने मानव परिक्षणका बारेमा विस्तृत जानकारी सोमबार उपलब्ध हुने भएपनि उक्त राज्यमा हुने पहिलो परिक्षणले सफल नतिजा दिने विश्वास अधिकारीले गरेका छन् । राज्यका इन्नोभेसनमन्त्री केट जोन्सले कोभिड – १९ लाई पराजित गर्न भ्याक्सिन अत्यन्तै महत्वपुर्ण भएकाले आफुहरुले दशौँ लाख अनुसन्धानमा लगानी गरिसकेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै एबिसीले जनाए अनुसार अहिलेसम्म विश्वभरि १७ भ्याक्सिन क्लिनिकली मुल्यांकनको अवस्थामा छन भने सयबढी प्रि–क्लिनिकल अवस्थामा छन् ।

रेम्डेजिभिर प्रयोगमा अनुमति

एन्टिभाइरल औषधि रेम्डेजिभिर कोरोना भाइरसका कारण गम्भिर भएका बिरामीमा प्रयोग गर्न अस्ट्रेलियास्थित सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेशनले  अनुमती दिएको छ । स्थानीय समाचारमा जनाइएअनुसार यो औषधिको प्रयोगको अनुमती दिइएपनि सबैलाई उपलब्ध भने हुने छैन् । यो औषधि अस्पतालमा रहेका र गम्भीर इन्फेक्सन भएका युवा तथा किशोर विरामीलाई उपलब्ध हुनेछ । सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्ेरसनले कोभिडका गम्भिर विरामीको उपचारमा आशाजनक वैकल्पिक उपचारका रुपमा देखिएकाले अस्पताल बसाई कम गराउन महत्वपुर्ण हुने जनाएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफुसँग पर्याप्त औषधि रहेको जनाएका छन् । अधिकारीहरुले यो औषधि भ्याक्सिन अथवा उपचार नभएको तर गम्भीर विरामीलाई सहयोग पुग्ने औषधि भएको जनाएका छन् । समाचारमा जनाइए अनुसार यो औषधि अमेरिका, भारत लगायतका केही देशमा समेत कोरोना भाइरसका गम्भीर विरामीलाई प्रयोग गर्न अनुमती दिइएको छ । 


प्रतिक्रिया