सिनोफार्म कम्पनीको कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति

पुस १६, २०७७ | काठमाडौं

चीनले सिनोफार्म कम्पनीले बनाएको कोरोना भाइरस विरुद्धको खोप सशर्त प्रयोगका लागि अनुमति दिएको छ । यसअघि हिजो मात्रै चीन सरकारले तेस्रो चरणको चिकित्सकीय परीक्षणमा सिनोफार्मको खोप ७९ प्रतिशत भन्दा बढी प्रभावकारी पाइएको तथ्याङ्क सार्वजनिक गरेको थियो । 

 सिनोफार्मको खोप बजारमा बिक्रि वितरणका लागि अनुमति दिएसँगै विशेषत: एसियाली मुलुक यसबाट लाभान्वित हुने ठानिएको छ । चीनका राष्ट्रिय स्वास्थ्य आयोगले सिनोफार्मको खोप सुरक्षित रहेको भन्दै वृद्धवृद्धा र उच्च जोखिमका विरामीलाई दिन सकिने जनाएको छ । यसअघि नै सिनोफार्मको खोप आपतकालीन प्रयोगका रुपमा १० लाख भन्दा बढी चीनियाँ नागरिकलाई दिइसकेको दाबी उसले गरेको अलजजिराले उल्लेख गरेको छ ।

 तर खोप लगाइएका व्यक्ति र खोप परीक्षणको नतिजाका बारेमा पारदर्शी ढंगले विवरण सार्वजनिक नगरिएको भन्दै चीनको आलोचना भइरहेको थियो । चिनियाँ अधिकारीले भने कोरोना खोप सुरक्षित र प्रभावकारी भएको र यसबाट गम्भीर प्रकृतिको स्वास्थ्य असर नपर्ने दाबी गर्दै आएका छन् । फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४ दशमलव ४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ ।

यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो । १ सय २५ देशका करिब ३१ हजार व्यक्ति सो खोपको परीक्षणमा सहभागी भएका थिए । त्यस्तै बहराइनले चीनले बनाएको कोरोना भाइरस विरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिइसकेको छ । सो खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ । पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको थियो ।  


प्रतिक्रिया