भारतको उत्तराखण्डमा भीषण हिमपहिरो,१० जनाको शव भेटियो, डेढ सय भन्दा बढी बेपत्ता

माघ २५, २०७७ | नयाँ दिल्ली

भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिम पहिरो र त्यसपछि धौलीगंगा नदीमा आएको बाढीमा परी १० जनाको ज्यान गएको छ । घटनामा ठूलो मात्रामा जनधनको क्षति पुऱ्याएको अनुमान छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तरखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करीब १० बजेतिर हिम पहिरो गएको थियो । त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सय भन्दा बढी कर्मचारी बेपत्ता भएका छन् ।

बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ । त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तरखण्ड सरकारले दिएको जानकारी अनुसार बाढीका कारण करीब डेढसय बेपत्ता छन् । र, यो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उत्तरखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरुका रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरु समेत परेको आंशका गरिए पनि पुष्टि हुन सकेको छैन ।

स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा हाई अलर्ट जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । उद्धारका लागि केन्द्र सरकारले उद्धारका लागि विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उद्धारका लागि देहरादुनबाट करीब ३०० किलोमिटर टाढा रहेको हिम पहिरो गएको क्षेत्रमा उद्धारकर्मीहरुलाई जहाजबाट उतारिइसकेको छ । 


प्रतिक्रिया