म्यानमारमा सैन्य सरकारको क्रुरता : अन्तिम संस्कारका लागि जम्मा भएका नागरिकमाथि सेनाले चलायो गोली

चैत्र १५, २०७७ | काठमाडौं

म्यानमारमा सैन्य सरकार नागरिकप्रति क्रुर बन्दै गएको छ । हिजो एकैदिन १ सय १४ जना नागरिकको ज्यान लिएको सेनाले आज अन्तिम संस्कारका लागि जम्मा भएका नागरिकमाथि गोली चलाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । 

यांगून नजिकैको बागो भन्ने स्थानमा हिजो सेनाको गोली लागेर मृत्यु भएका २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि जम्मा भएका मानिसहरुलाई लक्षित गरेर सुरक्षाकर्मीले गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीको गोली लागेर के कति हताहती भयो भन्नेबारे यकिन भएको छैन । 

अन्तिम संस्कारमा उपस्थित एक महिलाका अनुसार मृतकका लागि सर्मपित क्रान्तिकारी गीत गाउँदै गरेको बेला अचानक सेना आएर गोली चलाएको थियो । आजै राजधानी नेपीद: नजिकै प्रदर्शनकारीलाई तितरबितर पार्न सेनाले चलाएको गोली लागेका थप दुई जनाको ज्यान गएको छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दैनिक जसो भइरहेका प्रदर्शनका क्रममा हालसम्म २० भन्दा बढी बालबालिकासहित ४ सय भन्दा ३२ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया