दिल्लीमा रात्रिकालीन कर्फ्यु

चैत्र २४, २०७७ | काठमाडौं

भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले आजदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कफ्र्यु लगाउने निर्णय गरेको हो । आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी गरिएको हो । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४८ संक्रमित थपिएका छन् भने १५ जनाको संक्रमणका कारण मृत्यु गएको छ । 

भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको स्वास्थ्य अधिकारीले बताएका छन् । संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको उनीहरुको भनाई छ । सार्वजनिक सरकारी तथ्यांकहरुले पनि संक्रमित हुने र मृत्युु हुनेको संख्या भयावह किसिमले बढिरहेको देखाएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर ९६ हजार ९ सय ८२ मा संक्रमण पुष्टि भएको छ । संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ । 

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण थप ४ सय ६६ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५ सय ६७ पुगेको छ । संक्रमणबाट बढी मृत्यु हुनेको संख्याका हिसाबले भारत विश्वको पाँचौं स्थानमा छ । कुल संक्रमणबाट भने भारतको अमेरिकापछि दोस्रो स्थानमा छ । भारत सरकारले संक्रमण बढ्न थालेपछि विगत केही सातायता खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ८ करोड ३१ लाखभन्दा बढीले खोप लगाइसकेका छन् । भारतका ३६ राज्य तथा प्रदेशहरुमध्ये महाराष्ट्र, मध्यप्रदेश, छत्तीसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मू–कश्मीर, गुजरातमा पनि संक्रमण तीव्र रुपमा बढेको छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था त झनै भयावह छ । 


प्रतिक्रिया