खोप निर्यात नहुँदा सेरम इन्स्टिच्युटलाई आर्थिक समस्या

चैत्र २५, २०७७ | काठमाडौं

भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्व विद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आदर पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताउनुभएको छ । सीईओ पूनावालाले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख अमेरिकी डलर थप आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसाग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिनुभयो । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । 

भारतले भारतमै कोभिड–१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना एस्ट्राजेनेकाको खोप निर्यातमा रोक लगाएको थियो । विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको भए पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उहाँले बताउनुभयो । 

 सेरम इन्स्टिच्युटले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानको रुपमा प्रति डोज करिब १ सय ५० भारतीय रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ । सेरमले विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभ्याक्स परियोजनालाई २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।


प्रतिक्रिया