अमेरिकाले प्यालेस्टाईनलाई पुन: सहयोग शुरु गर्ने

चैत्र २६, २०७७ | काठमाडौं

अमेरिकाले प्यालेस्टाईनलाई पुन: सहयोग शुरु गर्ने भएको छ । प्यालेस्टाईनको शरणार्थीलाई सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले २३ करोड ५० लाख डलर सहयोग गर्ने तयारी गरेको हो ।

 पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले प्यालेस्टाईनलाई दिदै आएको सहयोग रोकेको थियो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गर्दै मध्य पूर्व लगायत क्षेत्रमा संवेदनशील अवस्थामा रहेका प्यालेस्टिनी शरणार्थीको सहयोगका लागि १५ करोड डलर, वेस्ट बैंक तथा गाजा क्षेत्रको आर्थिक र विकास सहयोगका लागि ७ करोड ५० लाख डलर, र शान्ति स्थापना कार्यक्रममा १ करोड डलर खर्च गर्ने गरी सहयोग गरिने बताउनुभयो ।

सन् २०१८ मा अमेरिकाले दिदै आएको ३६ करोड डलर सहयोग रोकेपछि रष्ट्रसंघीय नियोगले आर्थिक संकट खेप्दै आएको थियो । विवादास्पद वेस्ट बैंक, गाजापट्टी, लेबनन र जोर्डनमा रहेका ५७ लाख प्यालेस्टिनी शरणार्थीलाई राष्ट्रसंघीय एजेन्सीले सहयोग गर्दै आएको छ । सो एजेन्सीले अमेरिकाले गरेको सहयोग घोषणाको स्वागत गरेको छ ।

इजरेलसँग लामो समयदेखि द्वन्द्व खेपिरहेको प्यालेस्टाईनसँग राष्ट्रपति बाइडेनले विश्वसनीय संलग्नताको सम्बन्ध चाहेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया