भारतमा कोरोनाविरुद्धको खोप अभाव

चैत्र २७, २०७७ | काठमाडौं

विश्वको सबैभन्दा धेरै खोप निर्माता भारतमै कोरोना भाइरसविरुद्धको खोप अभाव भएको छ । उत्तरप्रदेशको विहारस्थित एक अस्पतालले सूचना टाँस्दै खोप अभावका कारण खोप अभियान तत्कालका लागि बन्द रहेको जनाएको छ ।

 बिहारकै पटनाको गर्दनीबाग अस्पतालमा आज बिहानबाट खोप सकिएको भन्दै खोप लगाउन पुगेकालाई फर्काइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकै अन्य विभिन्न जिललामा पनि खोप उपलब्ध नभएको भन्दै खोप कार्यक्रम स्थगित गरिएका छन् ।

 यस्तै महाराष्ट्र राज्य सरकारले हाल रहेको १५ लाख मात्राको खोप मौज्दातले तीन दिन मात्र धान्ने बताएको छ । महाराष्ट्रको राजधानी मुम्बई र अन्य केही जिल्लाका खोप केन्द्रहरू बन्द गरिएका छन्। यद्यपी भारतको केन्द्र सरकारका स्वाथ्य मन्त्री हर्ष बर्धनले भने खोप अभाव भएको कुरा पूर्ण रुपमा निराधार रहेको टिप्पणी गर्नुभएको छ । यसअघि अक्सफोर्ड–आस्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्युटले यसै साता मात्रै उत्पादन क्षमता निकै दबावमा रहेको जनाएको थियो । 

विश्वकै सबैभन्दा ठूलो खोप निर्माता मध्येको एक भारतमा गत जनवरी १६ मा सुरु खोप अभियान सुरु भएको थियो । भारतले जुलाईभित्रमा २५ करोडलाई खोप दिइने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया