अलिबाबामाथि २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना

चैत्र २८, २०७७ | काठमाडौं

चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा २ अर्ब ७५ करोड अमेरिकी डलर करिब ३ खर्ब नेपाली रुपैयाँ जरिवाना गरेको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।

 यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो । बेलायती समाचार संस्था रोयटर्सका अनुसार अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करिब ४ प्रतिशत जरिवानामा बुझाएको छ ।

 चीनको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसनले (एस ए एम आर) गत डिसेम्बरमा अलिबाबामाथि अनुसन्धान सुरु गरेको थियो । एस ए एम आरले अलिबाबाले चीनको एन्टी–मोनोपोली कानुन उल्लंघन गरेको बताएको छ । अलिबाबाले चिनियाँ सामाजिक सञ्जाल वेइपोमार्फत एस ए एम आरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको छ । चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका थिए । 


प्रतिक्रिया