कोरोना भाइरसविरुद्धको खोपको असमान वितरणप्रति डब्लूएचओको आपत्ति

चैत्र २८, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वका धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको कडा आलोचना गरेको छ । डब्लूएचओका प्रमुख टेड्रोस अडानोम गेब्रियससले विश्वव्यापी खोपको वितरणमा आश्चर्यजनक असन्तुलन रहेको बताउनुभयो । 

जसका कारण अप्रिल १० अर्थात आजसम्म विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने लक्ष्य पूरा नभएको उहाँको भनाई छ । डब्लुएचओले लगातार कोरोना भाइरसविरुद्धको खोपको समतामुलक वितरणमा लागि आवाज उठाउँदै आएको छ । डब्लूएचओले खोपको समान वितरणका लागि कोभ्याक्स अभियान समेत सुरु गरेको छ ।

 सो अभियान अन्तर्गत हालसम्म विश्वका झण्डै एक सय देशमा तीन करोड ८० लाख मात्रा खोप वितरण गरिएको छ । कोभ्याक्स अन्तर्गत १ सय ९२ देशमा खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य लिइएको छ । डब्लुएचओका अनुसार धनी देशमा औषतमा चारमा एकजनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तर गरिब देशमा यो अनुपात पाँच सयमा एक मात्र रहेको छ । 


प्रतिक्रिया