खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

चैत्र ३१, २०७७ | काठमाडौं

विश्व स्वास्थ्य संगठन डब्लुएचओले खाद्य बजारमा जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्न आग्रह सहितको अन्तरिम निर्देशिका जारी गरेको छ । विश्व जीव स्वास्थ्य संगठन ओआईई र राष्ट्रसंघीय वातावरण कार्यक्रम युनेपको सहकार्यमा डब्लूएचओले अन्तरिम निर्देशिका निर्माण गरेको जनाएको छ ।

डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जनका लागि परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरेपनि नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न जीवित जंगली जीवजन्तुको बेचबिखन रोक्नुपर्ने जनाएको हो । डब्लुएचओले भनेको छ, 'खासगरी जंगली जनावरहरुले मानिसमा देखा पर्ने नयाँ संक्रामक रोगहरु ल्याउन ७० प्रतिशतभन्दा बढी भूमिका खेल्ने गरेका छन् । जंगली जनावरहरु नयाँ किसिमका रोगका मुख्य स्रोत नै हुन् ।'

डब्लुएचओले जोखिम मूल्याङ्कन नगरी यस्ता जनावर काटमार नगर्न, अन्य खाद्य पसलमा नराख्न र यस्ता जोखिमयुक्त बजारहरु तत्काल बन्द गराउन पनि सबैलाई आग्रह गरेको अलजजीराले जनाएको छ ।

चीनको उहानबाट सुरु भएको कोभिड–१९ का सुरुवाती संक्रमितहरु स्थानीय परम्परागत खाद्य बजारस्थित स्टलका मालिक, कामदारहरु तथा बजारमा नियमित आवतजावत गर्नेहरु नै पाइएको डब्लूएचओको भनाई छ । 


प्रतिक्रिया