खोपको उत्पादन बढाउन अधिकार सम्बन्धी नियम हटाउनुपर्छ : डब्लूएचओ

वैशाख २१, २०७८ | काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप उत्पादनको गति बढाउन उत्पादनको अधिकार सम्बन्धी नियम हटाउनुपर्ने जनाएको छ । डब्लूएचओ प्रमुख डा.टड्रोस अधानोम गेब्रेससले अधिक मुलुकमा खोप उत्पादन गर्न तथा खोपको मूल्यमा कमी ल्याउनका लागि उत्पादनको अधिकार सम्बन्धी नियम हटाउनुपर्ने बताउनुभयो । 

खोप उत्पादनसँग जोडिएको उत्पादनको अधिकार सम्बन्धी नियम हटाउन भारत र दक्षिण अफ्रिकाले गरेको प्रस्तावको स्वागत गर्दै डा.गेब्रेससले यस्तो बताउनुभएको हो । अन्य मुलुकहरुले यो प्रस्तावमा समर्थन जनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कोरोना संक्रमणविरुद्ध लड्न संगठनसँगै आर्थिक स्रोत समेत आवश्यक रहेको उहाँको भनाई थियो । विश्वभरका सबै वयष्क व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिन यो वर्ष १९ अर्ब डलर आवश्यक रहेको भन्दै गेब्रेससले आगामी वर्ष ३५ देखि ४५ अर्ब डलरसम्म आवश्यक पर्ने आकलन गर्नुभयो । 

जी सेभेन राष्ट्रमा सामिल मुलुकहरुले यसको नेतृत्व गर्न सक्ने र आर्थिक स्रोतको व्यवस्था गर्न संगठनलाई सहयोग गर्ने उहाँको विश्वास छ । कोभ्याक्स योजना अन्तर्गत डब्लूएचओले विश्वका सबै मुलुकमा कोरोनाविरुद्धको खोप पुर्‍याउने लक्ष्य लिएको छ । डब्लूएचओको यो योजनाले करीब १ सय ९० मुलुकलाई फाइदा पुग्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया