उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको उच्च जोखिममा : राष्ट्रसंघ

आश्विन २८, २०७८ | काठमाडौं

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको उच्च जोखिममा रहेका बताएको छ । उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष दूत टमस ओजा क्वीन्टानले खाद्यान्न अभाव, अन्तर्राष्ट्रिय प्रतिबन्धहरू र कोभिड नाकाबन्दी लगायतका कारण त्यहाँ चरम भोकमरीको अवस्था सिर्जना भएको बताउनुभयो । उत्तर कोरियालीहरूले मर्यादित जीवन जिउन दैनिक संघर्ष गरिरहेका क्वीन्टानले बताउनुभयो । 

पछिल्लो यस संकटबाट बचाउन विशेष दूत क्वीन्टानले सुरक्षा परिषद्को अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खुकुलो पार्नुपर्ने र मानवीय एवम् जीवन रक्षक सहायतालाई अनुमति दिनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । उत्तर कोरिया गम्भीर आर्थिक संकटमा रहेको आंकलन गरिएको छ । यसै साता नेता किम जोङ उनले देशले एक गम्भीर स्थितिको सामना गरिरहेको स्वीकार गरेको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका थिए ।

अमेरिकाका राष्ट्रपति जो बाइडनको नेतृत्वमा अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको बारम्बार बताउँदै आएपनि प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङयाङले परमाणु हतियार त्याग गर्नुपर्ने माग राखेको छ । तर उत्तर कोरियाले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै आएको छ । आर्थिक संकटको बाबजुद उत्तर कोरियाले हतियार र क्षेप्यास्त्र निर्माण जारी राखेको छ ।


प्रतिक्रिया