जर्मनीमा खोप नलगाएका ब्यक्तिलाई सार्वजनिक स्थलमा जान प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०७८

जर्मनीले कोभिड १९ विरुद्धको खोप नलगाएका ब्यक्तिलाई सार्वजनिक स्थलमा जान प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोभिड १९ को चौथो लहर सुरु भएपछि त्यसको नियन्त्रणका निम्ती सो उपाय अपनाइएको हो । चान्सलर एंगेला मर्केलले राष्ट्रिय एकताका निम्ती पछिल्लो उपाय अपनाइएको बताउनुभएको छ । खोप लगाएका तथा केही समय अघि मात्रै कोरोना संक्रमण भएर निको भएकाहरुलाई रेष्टुरेन्ट, सिनेमा हल, सहित पसलहरुमा जान दिइने नयां नियम लागु गरिएको छ ।

जर्मनीमा आगामि फेब्रुअरी देखी कोरोना भाइरस विरुद्धको खोप अनिवार्य गरिदैछ । जर्मनीमा चौथो लहर सुरु भएदेखी कोरोना भाइरस संक्रमणका कारण चौबिस घण्टाको अवधिमा ३ सय ८८ जनाको मृत्यु भएको छ । जर्मनीमा ओमिक्रोन भेरियन्टको संक्रमण समेत पाइएकाले अवस्था निकै चिन्ताजनक रहेको युरोपियन युनियनका स्वास्थ्य अधिकारीको भनाईछ । जर्मनीमा आगामि बुधबार देखी चान्सलर परिर्वतन हुने तय भएकाले पूर्ववर्ती सरकारले निकै सावधानी पूर्वक योजना तय गरिरहेको छ । 


प्रतिक्रिया