डब्लूएचओले भन्यो, 'ओमिक्रोन भाइरससँग विश्व डराउनु पर्दैन'

मंसिर १८, २०७८ | काठमाडौं

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताउनुभएको छ । 

डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भन्नुभयो, 'हामी आत्तिने होइन, ओमिक्रोन विरुद्धको लडाँईका लागि तयार र सतर्क हुन आवश्यक छ ।' 

हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन् । कोभिड–१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतमा हस आउने गरेको डब्लूएचओले उल्लेख गरेको छ । 

सो भेरियन्ट निकै संक्रामक रहेको वरिष्ठ वैज्ञानिक स्वामिनाथनले बताउनुभयो । हाल विश्वका ९९ प्रतिशत भेरियन्ट हाल डेल्टाको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । 

डब्लूएचओका निर्देशक माइक र्‍यानले हाल कोभिड–१९ विरुद्ध प्रयोग भईरहेका खोप निकै प्रभावकारी रहेको बताउनुभएको छ । 

यद्यपि, अहिले नै खोपहरुले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्ने नगर्ने बारे भने अध्ययन भईरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट देखिएपछि विश्वका अधिकांश मुलुकले ऊसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । 


प्रतिक्रिया