विश्वका ३९ मुलुकमा भेटियो ओमिक्रोन

मंसिर १८, २०७८ | काठमाडौं

विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले उपलब्ध कोभिड विरुद्धका खोपहरु निकै प्रभावकारी भएकाले खोप वितरणमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभएको छ । 

 ओमिक्रोनविरुद्ध खोप कति प्रभावकारी हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको भएपनि कोरोना संक्रमण विरुद्ध लड्न खोप अभियानको विकल्प नभएको उहाँको भनाइ छ ।

 हालसम्म विश्वका ३९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । सबैभन्दा बढी यूरोपका १८ मुलुकमा ओमिक्रोन देखा परिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, अफ्रिकाका ७, अमेरिकाज क्षेत्रका ४, एसिया प्यासिफिक क्षेत्रका ७, र मध्य पूर्वका ३ मुलुकमा ओमिक्रोन देखा परेको अलजजिराले जनाएको छ ।

यसैबीच, भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार गुजरातको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन् । संक्रमित व्यक्ति दुई दिनअघि जिम्बावेबाट भारत आएका थिए । यसअघि कर्नाटक प्रदेशमा दुई जनामा ओमिक्रोन देखिएको थियो । 

यस्तै श्रीलंकामा पनि एक जनामा ओमिक्रोन देखा परेपछि स्वास्थ्य सावधानी अपनाइएको छ ।

यसैबीच, नेदरल्याण्डमा थप १८ जनामा ओमिक्रोन देखा परेको छ । डच अधिकारीका अनुसार गत साता दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड पुगेका यात्रुमा ओमिक्रोन फेला परेको हो । 

क्यानडाको टोरोन्टोमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । टोरोन्टोस्थित स्वास्थ्य कार्यालयका अनुसार पहिलो पटक ३ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको हो । 

यसैबीच , ओमिक्रोन संक्रमणको सम्भावित थप जोखिमविरुद्ध लड्न नाइजेरियाले बुष्टर खोप अभियान सुरु गर्ने भएको छ । गत साता दक्षिण अफ्रिकाबाट आएका दुई यात्रुमा ओमिक्रोन देखा परेपछि नाइजेरियाले स्वास्थ्य सुरक्षामा कडाई गर्दै आएको छ । 


प्रतिक्रिया