श्रीलंका 'टाट पल्टियो' : प्रधानमन्त्री विक्रेमासिंघे

रेडियो कान्तिपुर संवाददाता

असार ९, २०७९ | काठमाडौं

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले आफ्नो मुलुक गम्भीर आर्थिक संकटबाट गुज्रिँनुपर्दा अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ । संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री विक्रेमासिंघेले मुलुक टाट पल्टने अवस्थामा पुगेको जानकारी गराउनुभएको छ ।

 त्यस्तै, उहाँले खाद्यन्नदेखि इन्धन, ग्यास, विद्युतसम्मका आधारभूत आवश्यकता पूरा गर्न पनि मुलुक सक्षम नभएको बताउनुभयो । प्रधानमन्त्री विक्रेमासिंघेले खाद्यान्न संकटबाट करिब ४० देखि ५० लाख जनता प्रत्यक्ष प्रभावित हुने प्रक्षेपण समेत सार्वजनिक गर्नुभएको छ । महिनौंदेखि विदेशी मुद्राको अभाव हुँदा अन्तर्राष्ट्रिय बजारबाट अत्यावश्यक सामाग्री खरीद गर्न समेत समस्या परेको र तत्काल विदेशी ऋणको ब्याज भुक्तानी गर्न सक्ने अवस्था समेत नभएको उहाँले स्पष्ट पार्नुभएको छ । 

श्रीलंकाले यसअघि नै ७ अर्ब वैदेशिक ऋण भुक्तानी स्थगित गरिसकेको छ । लामो समयदेखि खाद्य संकट झेल्दै आएको श्रीलंकामा पछिल्लो समय विश्वभर देखिएका इन्धन संकटले थप नकारात्मक असर पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 


प्रतिक्रिया