प्रधानमन्त्री नरेन्द्र मोदीको डकुमेन्ट्री हेरेको आरोपमा विद्यार्थी पक्राउ

माघ १५, २०७९

भारतमा सरकारले प्रतिवन्ध लगाएको बीबीसीको वृत्तचित्र हेरेको आरोपमा कयौं विद्यार्थीलाई पक्राउ गरिएको छ । सन् २००२ मा भारतस्थित गुजरात साम्प्रदायिक दंगामा प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाबारे चित्रण गरिएको वृत्तचित्र हेरेको आरोपमा नयाँ दिल्लीसहितका ठाउँमा ल्याप्टप, फोनसहित ठूलो संख्यामा विद्यार्थी पक्राउ परेका हुन् । 

दिल्लीमा २४ विद्यार्थी पक्राउ परेको अलजजीराले जनाएको छ । सरकारले वृत्तचित्र प्रसारणमा प्रतिबन्ध लगाएपनि विभिन्न माध्यमबाट वृत्तचित्र हेर्नेको संख्या बढेको बताइएको छ । गैरभाजपा समर्थित विद्यार्थी संघ सगठनले विभिन्न विश्वविद्यालयमा वृत्तचित्र प्रशारण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीको वृत्तचित्रले आफ्नो मुलुकको छवि बिगार्ने कोसिस गरेको भन्दै भारतको सूचना एवं प्रशारण मन्त्रालयले प्रसारणमा रोक लगाएको हो । वृत्तचित्रमा प्रधानमन्त्री मोदीको भूमिकाप्रति प्रश्न उठाइएको र नकारात्मक चित्रण गरिएको सरकारको दावी छ । 

करिब दुई दशक अघिको गुजरात साम्प्रदायिक दंगाका क्रममा रेलमा आगलागी हुँदा ५९ हिन्दु तीर्थयात्रीको मृत्यु भएपछि हिंसा सुरु भएको थियो । सो घटनामा ३१ मुस्लिमलाई आपराधिक षड्यन्त्र र हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो । 


प्रतिक्रिया