रुसको आक्रमणबाट बाख्मुत पूर्ण रुपमा ध्वस्त भयोः राष्ट्रपति जेलेन्स्की

जेष्ठ ७, २०८०

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सहर बाख्मुत पूर्ण रुपमा ध्वस्त भएको बताउनुभएको छ । जापानमा आयोजित जी सेभेन शिखर सम्मेलनमा भाग लिन पुगेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बाख्मुतको विनासलाई दोस्रो विश्वयुद्ध ताका हिरोशिमाको विनाससंग तुलना गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

७० हजार जनसंख्या रहेको सो शहरमा रुसले सबैभन्दा लामो र रक्तपातपूर्ण आक्रमण गरेको राष्ट्रपति जेलेन्स्कीले उल्लेख गर्नुभयो । हिरोशिमाको पुनर्निर्माणले आक्रमणमा ध्वस्त भएका युक्रेनी सहरहरु पुनर्निर्माण गर्न प्रेरित गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ । रुसी हमलापछि भग्नावशेष बनेको प्रत्येक गाउँ र सबै शहरहरु पुननिर्माण गर्ने सपना देखेको पनि उहाँले बताउनुभयो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी जेलेनस्कीसंग साइडलाइन वार्ता गर्दै युक्रेनप्रतिको संकल्पलाई भंग नगर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी समकक्षीलाई पुटिनले संकल्प नतोड्ने भन्दै आश्वस्त पार्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया