युक्रेनको आणविक प्लान्टमा आक्रमणपछि संयुक्त राष्ट्रसंघको चेतावनी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/world/powerplant-1712549759.jpg&w=700&height=600)
चैत्र २६, २०८० | काठमाडौं
युक्रेनको जापोरिजियास्थित पावर प्लान्टमा भएको ड्रोन हमलाले ठूलो आणविक दुर्घटना हुने खतरा बढाएको संयुक्त राष्ट्र संघको आणविक निगरानी निकायले चेतावनी दिएको छ ।
रुसले तीन जनाको ज्यान जाने गरी भएको सो आक्रमणमा युक्रेनको हात रहेको आरोप लगाएको छ । युक्रेनले भने सो आक्रमणमा आफूहरुको संलग्नता नभएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
दक्षिणी युक्रेनमा रहेको जापोरिजिया आणविक प्लान्ट युरोपकै सबैभन्दा ठूलो हो । यो आणविक प्लान्ट अहिले रुसको नियन्त्रणमा छ । सो पावर प्लान्टमा छ रियाक्टर रहेका छन् ।
सन् २०२२ मा युक्रेनमा हमला गरेपछि रुसले सो पावर प्लान्ट कब्जा गरेको थियो । रुस नियन्त्रित सो आणविक प्लान्ट रुस–युक्रेन द्वन्द्वको अग्रपंक्तिमा छ ।
राष्ट्रसंघको पारमाणविक निकाय आईए–ईएले सो आणविक केन्द्रमा हमला नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।
आईए–ईएका प्रमुख राफेल ग्रोसीले आइतबार भएको ड्रोन हमला, प्लान्टलाई ध्यान नदिई लापरवाहीपूर्वक गरिएको र यसले आणविक सुरक्षाको लागि खतरा बढाएको बताउनुभयो ।