प्यालेस्टाइनीलाई रफाह छोड्न इजरायलद्वारा सूचित

वैशाख ३०, २०८१ | काठमाडौं

गाजा क्षेत्रमा सैन्य कारवाही तीब्र बनाएसँगै इजरेलले हजारौं प्यालेस्टाइनीलाई रफाह छोड्न सूचित गरेको छ ।

इजरेलले सामाजिक सञ्जाल तथा पर्चा मार्फत सूचना प्रवाह गर्दै गाजाको पूर्वी क्षेत्र अल–मावासीमा जान रफाहका सर्वसाधारणलाई सुझाएको बीबीसीले जनाएको छ ।

अल–मावासीलाई इजरेलले मानवीय क्षेत्रको रुपमा बिस्तार गरेको जनाएको छ । रफाहमा इजरेलले सैन्य कारवाही बढाएसँगै विस्थापित भएकाहरु रफाहको बाटोमा अलपत्र परेका छन् ।

मानवीय संकट उत्पन्न हुन सक्ने भन्दै अमेरिका लगायत अन्य मुलुकले रफाहमा स्थलगत आक्रमण रोक्न चेतावनी दिएपनि इजरेल भने योजनाबद्ध रुपमा अघि बढेको छ ।

यसैबीच, प्यालेष्टाइन समर्थक हमासले बन्दी रिहा गरेमा गाजामा युद्धविराम हुन सक्ने अमेरिकाले जनाएको छ । हमासले बन्दी रिहाइ गरेको भोलिपल्टै युद्धविरामको हुने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

गत अक्टोबर ७ देखि जारी युद्धबीच हमासले १ सय २८ जनालाई बन्दी बनाएको इजरेलको दाबी छ । यस्तै इजरायली सेनाले आज जबालियामा भिषण बममारी गरेको छ ।

इजरायली सैन्य ट्यांकहरू उत्तरी गाजास्थित जाबालिया शरणार्थी शिविरमा पसेरै आक्रमण गर्न थालेको अलजजिराले जनाएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज तत्काल युद्धविरामको आह्वान गर्नुभएको छ ।


प्रतिक्रिया