इजरेलसँग थप वार्ता आवश्यक छैनः हमास

जेष्ठ १३, २०८१ | काठमाडौं

युद्धविराम गर्ने आफ्नो प्रस्तावको बेवास्ता गरेको भन्दै हमासले इजरेलसँग थप वार्ता आवश्यक नरहेको जनाएको छ ।

इजरेलले हमाससँग पुनःवार्ता गर्ने तयारी गरिरहेको समाचारको खण्डन गर्दै गाजास्थित हमासका अधिकारीले वार्ताको जरुरी नरहेको बताएका हुन । यसअघि नै युद्धविरामका लागि आफू सहमत भएपनि इजरेलले सो प्रस्ताव अस्वीकार गरेकाले आगामी पहल आवश्यक नरहेको हमासका प्रतिनिधि ओसामा हमदानले बताउनुभएको छ ।

टेलिफोन अन्तवार्ताका क्रममा हमासका अधिकारी हमदानले सबै प्रकारको आक्रमण तत्काल रोकेर इजरेलले गाजा क्षेत्र छोड्न आवश्यक भएको बताउनुभएको समाचार संस्था अलजजिराले जनाएको छ ।

इजरेलले नयाँ प्रस्ताव स्वीकार गर्ने सुनिश्चित नभएका कारण उसलाई थप समय दिँदा गाजामा आक्रमण थप बढ्ने हमदानको भनाई छ । केही साता अघि कतार र इजिप्टको मध्यस्तकर्तामा भएको वार्तामा हमासले युद्धविरामको प्रस्ताव गरेपनि इजरेलले आफ्नो माग सम्बोधन नभएको भन्दै अस्वीकार गरेको थियो ।

सो पश्चात गाजासँग युद्धविरामका लागि इजरेलले पुनः छलफलको तयारी गरेको जनाएको हो ।


प्रतिक्रिया