पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १४ बर्षको जेल सजाय
माघ ४, २०८१ | काठमाडौं
भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १४ बर्ष र उनकी पत्नी बुस्रा बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । खानलाई अल–कादिर विश्वविद्यालय परियोजना ट्रस्टमा अख्तियारको दुरुपयोग र भ्रष्टाचार मामिलामा दोषी पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
खानलाई १ मिलियन पाकिस्तानी रुपैयाँ समेत जरिवाना तिर्न अदालतले निर्देशन दिएको छ भने बीबीलाई त्यसको आधा रकम मात्र जरिवाना तिर्न भनिएको छ । अदालतले गत वर्षको डिसेम्बरमासो मुद्दामा फैसला घोषणा नगरी सुरक्षित राखेको थियो । र, अदालतले खानका समर्थकको दबाबका कारण सो घोषणालाई तीन पटक स्थगित गर्नुपरेको थियो ।
अदालतको फैसला लगत्तै सरक्षा अधिकारीले बीबीलाई अदालत परिसरबाट पक्राउ गरेका छन् । खान भने सन् २०२३ को अगस्टदेखि नै सोही जेलमा छन् । खानमाथि गत वर्षको जनवरीमा राज्यको उपहार बेच्ने, राज्यको गोप्य सूचना लिक गर्ने र गैरकानूनी विवाहसँग सम्बन्धित आरोप लागेको थियो ।