गाजामा युद्धविराम गर्ने सहमति इजरायली मन्त्रिपरिषदबाट पारीत
माघ ५, २०८१ | काठमाडौं
गाजा क्षेत्रमा जारी युद्धविरामका लागि प्लोस्टिनी विद्रोही समूह हमासँग भएको सहमतिलाई इजरायलले पारित गरेको छ ।
युद्धग्रस्त गाजा क्षेत्रमा बन्धक बनाइएकाहरुको रिहाइका लागि युद्धविरामको सहमति पारित भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यलयले जनाएको छ ।
६ घण्टा लामो छलफलपछि युद्धविरामको प्रस्ताव पारित भएको इजरायली प्रधानमन्त्रीको सचिवालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । छलफलमा समहभागी मन्त्रीपरिषद्का केही सदस्यहरुले विरोध गरेपनि सम्झौता भोलिबाट लागू हुने छ ।
गाजामा पछिल्लो १५ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्ने बाटो खोल्न सक्ने गरि बन्धक रिहाइ गर्न केहीदिन अघि हमास र इजरायल सहमत भएका थिए । इजरायली प्रधानमन्त्री नेतान्याहूको गठबन्धन सरकारका २४ मन्त्रीहरुले सम्झौताको पक्षमा मतदान गर्दा आठ जनाले विरोध गरेको बताइएको छ । युद्धका क्रममा हालसम्म ४६ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै २५ लाख जनसंख्या विस्थापीत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।