आफ्नो सामानमा थप १० प्रतिशत कर लगाउने अमेरिकाले निर्णयपछि चीन असन्तुष्ट

फाल्गुन १६, २०८१ | एजेन्सी
अमेरिकाले चीनमाथि थप १० प्रतिशत कर लगाउने भएपछि चीनले प्रतिक्रिया जनाउँदै असन्तुष्टि जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले साप्ताहिक ब्रिफिङ गर्दै सो शुल्कबारे असन्तुष्टि जनाउँदै त्यसको दृढतापूर्वक विरोध गर्ने बताउनुभएको हो । उहाँले व्यापार तथा कर युद्धमा कोही विजेता नहुने उल्लेख गर्नुभयो । प्रवक्ता लिनले अमेरिकी एकपक्षीय कर वृद्धिले विश्व व्यापार संगठनको नियम उल्लंघन गरेको बताउनुभएको छ ।
यसअघि, क्यानाडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने बताएको भोलिपल्टै अमेरिकाले चीनमाथि पनि थप १० प्रतिशत कर लगाउने नयाँ रणनीति लिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनमाथि पनि थप १० प्रतिशत कर लगाउने बताउनु भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनबाट आयात हुने सामानमा यसअघि नै अमेरिकाले १० प्रतिशत कर लगाउदै आएको छ । त्यसमा थप १० प्रतिशत नयाँ कर लगाईने भएको हो ।
अमेरिकाको पछिल्लो योजनाका विषयमा चीनले भने कुनै प्रतिक्रिया दिएको छैन । चीन, मेक्सिको र क्यानडा अमेरिकाका सबै भन्दा ठूला व्यापार साझेदार हुन् । यी तीन मुलुकले अमेरिकाको आयातमा ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका छन् । तीन देशका सामानहरूमा कर लगाउँदा अमेरिकामा आईफोनदेखि एभोकाडोसम्मको मूल्य बढ्न सक्ने भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् ।