प्रयागराजमा महाशिवरात्रिको अवसरमा स्नान गर्न भक्तजनको घुइँचो

फाल्गुन १४, २०८१ | काठमाडौं
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा महाशिवरात्रिको अवसरमा स्नान गर्न लाखौं भक्तजनको घुइँचो लागेको छ । आज महाशिवरात्रिको महास्नान र महाकुम्भको अन्तिम दिन पनि हो । गत जनवरी १३ बाट सुरु भएको महाकुम्भ मेला महाशिवरात्रिको स्नानसँगै समापन हुनेछ ।
महाकुम्भ मेलाको अन्तिम दिन भएकाले मंगलबारदेखि भक्तजनको घुइँचो लागेको थियो । मेलामा भारतको सबैभन्दा पवित्र नदी मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नानको व्यवस्था मिलाइएको छ । ब्रह्म मुहूर्तदेखि पवित्र संगमको किनारमा स्नान गर्न भक्तजनको भीड लागेको छ ।
भक्तजनको सुविधाका लागि त्यहाँको प्रहरीले नजिकैको घाटमा स्नान गर्न मिल्ने गरी व्यवस्था मिलाएको छ । चारैतिरबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै घाटको व्यवस्था गरिएको छ । महाकुम्भमा आज २ करोड भन्दा बढी भक्तजनले स्नान गर्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
महाशिवरात्रिको अवसरमा कुनै पनि भीआइपी स्नान नहुने भएकाले पछिल्लो १० दिनदेखि महाकुम्भ क्षेत्रमा भीड बढेको हो । भीडभाडलाई मध्यनजर गर्दै मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ ।
मेला सुरु भएदेखि हालसम्म ६५ करोड भन्दा बढी भक्तजनले महाकुम्भमा स्नान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अन्तिम स्नानका बेला हुन सक्ने भीडलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
मेला क्षेत्र र ठूला शिव मन्दिरमा सुरक्षा व्यवस्थाको विशेष व्यवस्था मिलाउन निर्देशन दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाशिवरात्रि तथा महाकुम्भको अन्तिम स्नान पर्व सफलतापूर्वक सम्पन्न गर्नका लागि ट्राफिक नियम र प्रशासनिक निर्देशनको पालना गर्न प्रशासनले सबै भक्तजनमा अपिल गरेको छ ।