भारतले जल सन्धि निलम्बन गरेपछि पाकिस्तानमा देशव्यापी बन्द हड्ताल

वैशाख १३, २०८२ | काठमाडौं
भारतले जल सन्धि निलम्बन गरेपछि पाकिस्तानमा त्यसको विरोधमा आज देशव्यापी बन्द हड्ताल भएको छ ।
साथै, प्रदर्शनकारीहरुले प्यालेस्टाइन र कश्मीरको विषयमा समेत ऐकेबद्धता देखाउँदै प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जमात–ए–इस्लामी पार्टीले आह्वान गरेको हड्तालमा व्यापारी तथा व्यापारिक संघहरुले समर्थन गरेका छन् ।
बन्दको प्रभाव प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको कराँचीमा परेको छ । त्यहाँका बजार तथा व्यापारिक केन्द्रहरु बन्द भएका छन् । त्यस्तै, राजधानी इस्लामाबाद, रावलपिन्डी, लाहोर लगायतका क्षेत्रहरुमा पनि बन्दको प्रभाव परेको छ ।
मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा २७ जना मारिएपछि भारतले पाकिस्तानसँग गरिएको सन् १९६० को सिन्धु जल सन्धि निलम्बन गरेको थियो ।