पाकिस्तानमा एक साताको अवधिमा ७ हजार बढि अफगानी नागरिक पक्राउ

कार्तिक २२, २०८२ | काठमाडौं

पाकिस्तानमा पक्राउ पर्ने अफगानी नागरिकको संख्यामा उल्लेख्य बृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले एक हप्ताको अवधिमा पक्राउ पर्नेको संख्या १ सय ४६ प्रतिशतले बढेको देखाएको हो ।

प्रतिवेदन अनुसार अघिल्लो साता ७ हजार ७ सय ६४ अफगानी नागरिकलाई पक्राउ गरि हिरासतमा राखिएको थियो । जुन त्यस अघिको भन्दा धेरै भएको प्रतिवेदनलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ । प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्दका घटना बलुचिस्तान प्रान्तमा भएको पाइएको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार अक्टोबरको अन्तिम साता फिर्ती तथा निर्वासीत हुनेको दर समेत बढेको पाइएको छ । सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बरसम्म १६ लाख ६७ हजार ७ सय १३ अफगानीहरु स्वदेश फिर्ता भएका छन् ।  


प्रतिक्रिया