विद्यार्थी नेतृ बिनिता कांग्रेस केन्द्रीय सदस्यमा विजयी
आश्विन ३१, २०८३
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ बिनिता अधिकारी पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । पार्टीको १५औँ महाधिवेशनमा खस–आर्य महिला क्लस्टरतर्फ उम्मेदवार बनेकी अधिकारी तेस्रो स्थान हासिल गर्दै विजयी भएकी हुन् ।
पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) की पूर्वसभापतिसमेत रहेकी अधिकारी विद्यार्थी जीवनदेखि नै पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी अधिकारीले लामो समयदेखि सङ्गठन निर्माण, महिला अधिकार र समावेशी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
दोलखा घर भएकी अधिकारी विद्यार्थीमाझ लोकप्रिय नेतृका रूपमा परिचित छन् । निर्वाचित भएपछि उनले महिला नेतृत्वको सशक्तीकरण, पार्टीभित्र समावेशी सिद्धान्तको सबलीकरण र युवा पुस्ताको भावना अनुरूप काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।







