अमेरिकाको दबाबकाबीच रुस र भारतबीच महत्वपूर्ण सम्झौता
मंसिर १९, २०८२ | काठमाडौं
भारत र रुसबीच पर्यटन र व्यापारको क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा सो सम्झौता भएको हो । हैदराबाद हाउसमा भएको भेटघाटका क्रममा दुई देशबीच भएको सो सहमतिलाई निकै चासोका साथ हेरिएको छ । दुई देश बीचको २३ औं शिखर सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी नागरिकका लागि निःशुल्क पर्यटक भिसा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
प्रधानमन्त्री मोदीले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाँडै नै रुसी नागरिकलाई निःशुल्क ३०–दिने ई–पर्यटक भिसा उपलब्ध गराइने बताउनुभयो । पर्यटकीय गतिविधि बढाउनका लागि भारतले रुसमा दुईवटा नयाँ दुतावास समेत सञ्चानमा ल्याएको समाचारमा जनाइएको छ । यसैबीच, अमेरिकाको चर्को दबाबकाबीच रुस र भारतबीच व्यापार सम्बन्ध विस्तारको सहमति समेत भएको छ ।
शिखर सम्मेलनलाई सम्बोधन गर्दै रुसका राष्ट्रपति पुटिनले आपसी आर्थिक सम्बन्धलाई विविधीकरण गर्न सहमति जनाउनुभएको हो । इन्धत आपूर्तीको विषयमा रुससँगको दशकौं पुरानो साझेदारीलाई पुनर्विचार गर्न अमेरिकाले दबाब दिइरहेको सन्दर्भमा पछिल्लो सहमति भएको हो ।
पुटिनले भारतलाई इन्धन आपूर्तीका लागि अबरोध नगर्ने प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । दुई देशबीच सन् २०३० भित्र १ सय अर्ब अमेरिकी डलर बराबरको व्यापार गर्ने सहमति गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।










