गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

मंसिर २७, २०७६ | काठमाडौं

रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरेको छ । आफ्नो २१ औं वार्षिक उत्सवको अवसर पारेर रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रधानलाई १ लाख रुपैयाँ नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका प्रेमध्वजले आधुनिक, लोक, भजन, चलचित्र र नेपाल भाषा गरी विभिन्न विधामा सात सय भन्दा बढी गीतमा स्वर र संगीत भर्नुभएको छ ।

२१ औं वार्षिक उत्सवको अवसरमा रेडियोले सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिलाई पनि नेशनल म्युजिक अवार्डबाट सम्मान गरेको छ । वर्षभरि रेडियो कान्तिपुरमा प्रशारण भएका गीतहरु मध्येबाट उत्कृष्ट एक जनालाई अवार्ड प्रदान गरेको हो ।

यो वर्ष पुरुष पाश्र्व गायनतर्फ ‘वनकी चरी’ गीतबाट रुपक डोटेल र महिला तर्फ ‘जिन्दगी नै’ गीतबाट प्रविशा अधिकारी उत्कृष्ट भए । यसैगरी, पप गायन तर्फ ‘अलि अलि गीतबाट प्रताप दास र समृद्धि राई ‘म दामी छ’ु गीतबाट उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ ‘जिस्काँउथे’ गीतबाट सुमन कुमार श्रेष्ठ र ‘सम्झनामा नआउ’ गीतबाट संगीता राना प्रधान उत्कृष्ट भए ।

लोक गीततर्फको अवार्ड यो वर्ष ‘सालको पात टपरी हुने’ बाट कलेन्द विश्वकर्माले जिते भने ‘मुखैमा चिनी’ गीतबाट गायीका सुनिता दुलालले यो वर्षको नेशनल म्युजिक अवार्ड जितिन् ।

यो वर्षको पिपुल्स च्वाईस अवार्ड भने ‘गलबन्दी च्यातियो’ गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा प्राप्त गरे । युगल गीत तर्फ यो वर्ष ‘कर्के नजर’ गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड प्राप्त गरे । उत्कृष्ट व्याण्डको अवार्ड भने ‘लाहुरे’ गीतबाट मन्त्र ब्याण्डले जित्यो । 

उत्कृष्ट म्युजिक निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनले ‘बाबाको टोपी’ गीतबाट जिते । उत्कृष्ट गीतकारको अवार्ड ‘कस्तो हाल’ गीतबाट विरेन्द्र पाठकले प्राप्त गरे । ‘कस्तो दूरी’ गीतबाट बिक्रम बरालले नव गायकको अवार्ड जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने ‘नबिर्स है’ गीतबाट चितमान गुरुङले प्राप्त गरे ।

सांगीतिक क्षेत्रका उत्कृष्ट गायक गायीका सर्जकसँगै रेडियो कान्तिपुरले वर्षभरि सबैभन्दा धेरै विज्ञापन दिने उत्कृष्ट ३ विज्ञापन एजेन्सीलाई समेत सम्मान गरेको छ । उत्कृष्ट एजेन्सीहरु मिडिया सेन्स पहिलो, एड रिलिज दोस्रो र थम्सन नेपाल तेस्रो भए ।

कार्यक्रममको उद्घाटनमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवम प्रबन्ध निर्देशक कैलाश सिरोहियाले यसपटकबाट रोयल्टी बढाएर १० रुपैयाँबाट १५ रुपैयाँ पुर्‍याएको बताउनुभयो । २५ लाख जनाको पहुँचमा रहेको रेडियो कान्तिपुरको वेभ साइटलाई परिस्कृत र परिमार्जन गर्दै जाने पनि उहाँले बताउनुभयो । 


प्रतिक्रिया