खाद्यान्न अभाव भएपछि हेलिकप्टरले पुर्‍यायो साइपालमा चामल

फाल्गुन ४, २०७६ | बझाङ

लगातारको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको विकट साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको छ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले नेपाल खाद्य संस्थानको सुर्खेत स्थित गोदामबाट चामल हेलिकप्टर मार्फत साइपाल पुर्‍याइएको हो ।

 २५ क्विन्टल २० केजी चामल चरम अभाव रहेको साइपाल गाउँपालिका वडा नम्बर ४ का काँडा, चुकझाड, बाँझचौका, काया तथा वडा नम्बर ५ मा पर्ने धुलीगाउँका स्थानियलाई वितरण गरिएको छ ।

प्रतिव्यक्ती तीन किलोको दरले वितरण गरिएको चामलले ४ नम्बर वडाका २१ परिवारलाई मात्र पुगेको र बलौडी तथा न्युना गाउँका बासिन्दाका लागि थप खाद्यान्न ढुवानी गर्न पहल भैरहेको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । थप चामल ढुवानीका लागि प्रतिनिधी सभाका सांसद आसाकुमारी विकले मन्त्रालयमा पहल गरिरहेको र आफुहरुले पनि विभिन्न माध्यमबाट अनुरोध गरिरहेको धामीको भनाई छ ।

झण्डै दुइ दशक पछि निरन्तर भएको भारी हिमपातका कारण साइपाल गाउँपालिकामा बाक्लो चार देखी सात फिट सम्म हिउँ जमेर बाटा घाटा बन्द भएका छन । स्थानियको घरमा संचित खाद्यान्न पनि सकिए पछि साइपालमा खाद्यान्नको चरम अभाव सुरु भएको थियो । 


प्रतिक्रिया