सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली

फाल्गुन ४, २०७६ | झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसंग बहुमत भएपनि सरकार विरुद्ध विभिन्न शक्ति केन्द्रहरुले षड्यन्त्र गरिरहेको बताउनु भएको छ । 

गृहनगर दमक नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले षड्यन्त्र रचेको भरमा देश विकासको गतिविधि नरोकिने चेतावनी दिनुभयो । मुलुकको विकासको रफ्तारलाई रोक्न तथा सरकार ढाल्ने क्रियाकलापहरु अझै पनि जारी रहेको उहाँको भनाई थियो ।

आफू ५० बर्षदेखि निरन्तर विभिन्न पक्षसंग लड्दै अघि बढिरहेकाले सरकार बिचलित नभई अघि बढ्ने प्रधानमन्त्री ओली दृढता व्यक्त गर्नुभयो । राजा फालेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि संघर्ष समाप्त नभएको उहाँले बताउनुभयो ।

उच्चस्तरीय छानबिन मार्फत सरकारी जमिन अतिक्रमण भएको, जालझेल गरेर व्यक्तिगत बनाएको पुष्टि भएको खण्डमा सरकारले कुनै हालतमा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको दावी थियो ।

सुकुम्बासी, भूमिहीन र भूमि सम्बन्धि समस्या झेलिरहेकाहरुको समस्या समाधानको लागि सरकारले ठोस काम गर्ने प्रधानमन्त्री ओलीको बताउनुभयो । 

उहाँले सभालाई सम्बोधन गर्नुअघि आफ्नो निर्वाचन क्षेत्र समेत रहेको दमक नगरपालिकास्थित कृष्ण मन्दिर–बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, झापाको दमक र मोरङको मधुमल्ला जोड्ने गरि मावा नदीमा निर्माण भएको पुलको उद्घाटन तथा झापा, इलाम र पाँचथर जिल्लालाई जोड्ने रणनीतिक सडक दमक–चिसापानी कालोपत्रे सडकको शिलान्यास गर्नुभएको थियो ।  


प्रतिक्रिया