सम्पादकहरुले भने, 'चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्यो'

फाल्गुन ७, २०७६ | काठमाडौं

रेडियो कान्तिपुर संवाददाता

काठमाडौं द काठमान्डु पोष्ट अंग्रेजी दैनिकमा प्रकाशित सामग्रीलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको सम्पादकहरूले बताएका छन् । 

द काठमान्डु पोष्ट पोष्टमा प्रकाशित एउटा लेखलाई आधार बनाएर दूतावासले मंगलबार जारी गरेको विज्ञप्ति प्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

बुधबार विज्ञप्ति मार्फत विभिन्न नेपाली सञ्चार माध्यमका सम्पादकले प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने र त्यसको खण्डन गर्ने अधिकार भएपनि सम्पादककै नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति आफूहरुको असहमति भएको स्पष्ट पारेका छन् । 

द काठमान्डु पोष्टले मंगलबार आफ्नो विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीन सम्बन्धी लेख साभार गरेको थियो । सोही लेख र त्यसमा रहेको चित्रप्रति आपत्ति जनाउँदै दूतावासको मंगलबार कडा विज्ञप्ति जारी गरेको थियो । 

दूतावासको विज्ञप्ति प्रति असहमति जनाउँदै प्रमुख मिडियाका सम्पादहरूले बुधबार त्यसले कूटनीतिक मर्यादा नाघेको बताएका हुन् । 

काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भत्सर्ना गरेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघले द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

कूटनीतिक निकायबाट विज्ञप्ति मार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय भएको महासंघले जनाएको छ । महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, "प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो । कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ । महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।"