नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

चैत्र १०, २०७६ | काठमाण्डौं

– नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ बर्षीया नेपाली युवतीमा कोरोना सक्रमण पुष्टी भएको हो । स्वास्थ्यमन्त्रालयमा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले संक्रमितको अहिले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

बिद्यार्थी भिषामा फ्रान्समा रहेकी ती युवती कतारको दोहा हुँदै काठमाडौं आईपुगेकी थिईन् । यसअघि चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा पहिलोपटक संक्रमण पुष्टी भएको थियो । उनी पूर्ण रुपमा निको भएका छन् ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ती युवतीसंगै विमानमा सवार व्यक्तिहरुको खोजी भइरहेको भन्दै उनीहरुको पनि तत्काल स्वास्थ्य परीक्षण गरिने बताउनुभयो ।

कोरोना संक्रमणको उपचारका लागि आवश्यक सतर्कता अपनाउदै सातै प्रदेशमा टेकुस्तरको ल्याब बनाउने तयारी समेत सरकारले थालेको मन्त्री ढकालले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा संक्रमण थप बढ्नसक्ने भएकाले स्वास्थ्य परीक्षणको दायरा थप फराकिलो बनाउन नेपाललाई आग्रह गरिसकेको भन्दै मन्त्री ढकालले यसबारे सरकार गम्भिर रहेको बताउनुभयो । 


प्रतिक्रिया