कोभिड १९ को परीक्षण पोखरा र हेटौंडाबाट पनि

चैत्र १९, २०७६ | काठमाडौं

कोभिड १९ को परीक्षण आजबाट पोखरा र हेटौंडामा पनि हुने भएको छ । काठमाडौं र धरानबाट मात्र हुँदै आएको परीक्षण पोखरा र हेटौंडाबाट पनि हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनबाट १६ गते ल्याईएका परीक्षण किट र मेसीन पोखरा, सुर्खेत, जनकपुर र बुटवलका लागि पठाईएको थियो ।

सुर्खेत, धनगढी, जनकपुर र बुटवलमा पनि हिजै परीक्षण मेसिन पठाईएको मन्त्रालयका प्रबक्ता डा. विकास देबकोटाले जानकारी दिनुभयो । ती स्थानमा पनि छिट्टै परीक्षण सुरु गर्ने मन्त्रालयको तयारी छ । मकवानपुरको हेटौडामा यसअघि नै परीक्षण मेसिन भएपनि आवश्यक जनशक्ति नहुँदा परीक्षणको काम हुन सकेको थिएन । 

पोखरामा मेसिन र जनशक्ति पठाएसँगै परीक्षण सुरु हुन लागेको गण्डकी प्रदेशका प्रादेशीक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका सम्पर्क अधिकृत नवराज शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार गएराती नै मेसिनको परीक्षण गरिएको छ । हिजोसम्म संकलन गरिएका नमुना काठमाडौं पठाएपनि आजबाट संकलन हुने सबै नमुना पोखरामै परीक्षण हुने उहाँले बताउनुभयो ।

मकवानपुरको हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पनि आज अपरान्हबाट परीक्षण सुरु हुन लागेको हो । चीनबाट ल्याएको किट, औषधी, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई गएराती हेटौडामा पुगेको थियो ।

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता दिपेन्द्र सुवेदीका अनुसार परीक्षणका लागि किटसंगै आवश्यक पर्ने जनशक्तिको टोली गएराती हेटौडा पुगेको हो । भाइरस व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो ।


प्रतिक्रिया