कोरोनाले लाग्यो जात्रामा ब्रेक

चैत्र २४, २०७६ | काठमाडौं

नेपाल सम्वत ६८० मा भक्तपुरका मल्लकालिन राजा त्रिभुवन र गंगा महारानीले बज्रयोगिनी जात्राको २० दिनअघि साँखुमा आक्रमण गरी जिते । हमलाबाट जनधनको क्षति पुग्यो । तैपनि साँखुबासीले जात्रा भने निरन्तर चलाएको बज्रयोगिनी वंशावलीमा उल्लेख छ । सो वंशावलीमा नेपाल सम्वत ६९० मा कान्तिपुरका महेन्द्र मल्लले साँखुमा राज गरेको भनी लेखिएको छ । 

अत: १० वर्षको अन्तरालमा भक्तपुरका राजा त्रिभुवनलाई कान्तिपुरका राजा महेन्द्रले आक्रमण गरी जिते । तर, त्यतिबेला पनि जात्रा भने रोकिएन । जात्राका बेला सवार हुनुपर्ने मल्लकालिन राजा प्रताप मल्लको मृत्यु भएका बेला मात्र एक पटक नेपाल संवत ७९४ मा जात्रा रोकियो । त्यसयता मल्लहरुलाई पृथ्वीनारायाण शाहले जित्दा, त्यति बेलाका विफर जस्ता महामारी फैलिँदा, १९९० र ०७२ को प्रलयकारी महाभूकम्प जाँदा पनि जात्रा रोकिएन । तर, कोरोनो (कोभिड–१९) ले जात्रा रोक्न कहर लाग्यो ।

नेपाल संवत ८३६ मा चैत्र महिनामा सितला महामारीको कारणले राजधानीमा एक सय भन्दा बढी ज्यान गयो । ने.सं. ९३९ मा सितला कै कारण दैनिक ३० जनादेखि ५० जनासम्मको ज्यान गएको भाषा लगायत वंशावलीमा उल्लेख छ । राजा गीर्वाणयुद्ध विक्रम शाह सितला रोगबाटै निधन भएको पनि वंशावलीमा उल्लेख छ । यस्तो विपतिका बेला पनि सेतो मत्स्येन्द्रनाथ जात्रा रोकिएन । मत्स्येन्द्रनाथको जात्रामा पूर्ण रुपमा ब्रेक लागेको यो पहिलो पटक हो ।

पृथ्वीनारायण शाहले विस १८२५ मा इन्द्रजात्राको अवसर पारेर कान्तिपुरमाथि विजय प्राप्त गरे । काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे । राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसँग समेत सहयोग मागेपछि शाहले भक्तपुर माथि आक्रमण गर्न एक हजार ५ सय फौज पठाए । भक्तपुरमा युद्ध भयो: जसमा ठूलो जनधनको क्षति पुग्यो । झन्डै २ हजार बढीको मृत्यु र ५ सय बढी घर ध्वस्त भयो । तापनि भक्तपुरबासीले बिस्का जात्रा भने मनाउन छाडेन । यो जात्रामा पनि पूर्ण रुपमा रोक लागेको यो पहिलो पटक हो ।

इतिहास पल्टाउँदा ठूल्ठूला सत्ता परिवर्तन र प्राकृतिक विपत्तीका कारणले राष्ट्रिय जात्रापर्व मात्र होइन्, अन्य टोल चोकमा मनाउने चाडपर्व पनि रोकिएको देखिदैन । यसरी संस्कृतिलाई निरन्तरता दिनुको कारण जात्रापर्व देश र जनताको कल्याणर्थका लागि मनाउने भएकाले नरोकिएको संस्कृतिविद्हरु बताउँछन् । तर, कोरोनाले भने रोक्न कहर लाग्यो किन ?

संस्कृतिका अध्यायता एकाराम सिं भन्नुहुन्छ, ‘चाहे त्यो जुनसुकै मुलुकको होस्: प्रकृति, वातावरण, पर्यावरण, संस्कृति र मानव जातिबीच गहिरो अन्तरसम्बन्ध हुन्छ । संस्कृतिको आधार प्रकृति हो । प्रकृतिको यसै महत्वलाई आत्मसाथ गरेर पुर्खाहरुले धर्म, दर्शन र संस्कृतिले विशेष आस्था र सम्मानका साथ पूजा र अनुष्ठान गरेको पाइन्छ । तर, पछिल्लो समय मानव जातिले संस्कृति माथि खेलवाड गरे, प्रकृतिमाथि चरण शोषण गरे । अहिलेको यो विसम परिस्थिति यसैको परिणाम हो ।’

उहाँका अनुसार चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको अनुमान गरेका छन्, पुष्टि भने भएको छैन । ‘कुनै बेला चीन लगायत एसिया प्रान्तमा सर्प, भ्यागुता जस्ता जीवको प्रकृति पूजा गर्ने संस्कृति थिए । जुन अहिले हराएर गए,’ उहाँले भन्नुभयो, ‘चीनमा जस्तो नेपालमा नागपञ्चमी, भ्यागुतालाई भात खुवाउने चलन बन्द नहोस् ।’

नेपालमा पाहा: चह्रे चाड बडा दशैं पछिको ठूलो पर्व हो । यस पर्वमा टोल चोक सफासगुर गरेर जमिनमुनि पुरिराखेको लुकुमाद्य: (लुकिराखेको महादेव) लाई बाहिर निकाली पूजा गर्ने प्रचलन छ । पाटनमा घोडे जात्राको दिन गरिने पूजा पनि एक खालको प्रकृतिमाथिको सम्मान नै हो । कुनै बेला यी चाडपर्वको राज्यले पनि आत्मसाथ गर्‍यो । सरकारी संस्था सरह मान्यता दिए । जात्रापर्व सुव्यवस्थित बनाउन जग्गा जमिनाको बन्दोबस्त मिलाए ।

कुन जात्रा कुन समुदायले चलाउने र क–कसले कति सघाउने नियम बनाइ दियो । नियम बमोजिम काम गरेबापत गुठीयारले सेवा सुविधा पाए । यसले जात्रा चलाउनमा कुनै आँच आएन । उहाँ भन्नुहुन्छ, ‘यता गोरखा सरकार आएपछि सरकारबाट दिँदै आएको प्रत्यक्ष तथा अप्रत्यक्ष सबै सहायता बन्द हुँदै गयो । अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी संघीय संरचना अनुसार स्थानीय तहमा जनप्रतिनिघि आएको पनि झन्डै तीन वर्ष बित्न लागिसक्यो । तर, संस्कृति संरक्षण र प्रवर्धनको विषय त्यति प्राथमिकतामा पर्न सकेको छैन ।’ यसरी नै संस्कृति लोप हुँदै गएमा एक दिन प्रकृतिले यो भन्दा पनि भयंकर रुप लिनसक्ने उहाँले बताउनुभयो ।

साँखुको बज्रयोगिनी देवीलाई हिन्दू सम्प्रदायले दश महा विद्यादेवी, बौद्ध सम्प्रदायले उग्रतारा र तिब्बती लामाले धोज्र्येफाम्बू, मनकामना रुपमा पुजिन्छ । जात्रामा तिब्बती लामा, स्थानीय तामाङ समुदायबाट प्रकृतिको पूजा गर्ने चलन छ । आठ दिन मनाइने जात्राका बेला नगर क्षेत्रभित्र होम गर्ने चलन छ । होम गर्दा जडीबुटी प्रयोग गर्ने चलन छ । साँखुका इतिहासविद् प्रकाशमान सक्वले भन्नुभयो, ‘कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी, धसिंगरे, गलेनी जस्ता औषधीका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्दा घरवरिपरका रोगप्रसारक किटाणुहरु नष्ट हुने गर्दछ । तर, अहिले प्रकृतिको विनाश सँगै होम गर्दा प्रयोग गरिने जडीबुटी हराउँदै गए ।’

उहाँका अनुसार घरको मूल ढोकानेर रोपेर हेरेक दिन पूजा गरिने तुलसी, गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनियो । ‘तर, कालान्तरमा यसमा कति गुण रहेछ भन्ने प्रमाणित हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘गुरुपूर्णिमा, मातातीर्थ औंसी, भाईतिहार, माघे संक्रान्ति, साउने संक्रान्ति, नाग पञ्चमी लगायत जाडपर्व आफैमा अति महत्वपूर्ण छन् भन्ने पुष्टि हुँदै गएका छन् ।’

उहाँले प्रकृतिलाई सन्तुलनमा राख्न र मानव समाजलाई निरोगी र सक्रिय बनाइराख्न पुर्खाले बनाएका विधि विदान पालना नगर्दा पनि आज संकट भोग्नु परेको बताउनुभो । भक्तपुरमा बिस्का लगायत अन्य जात्रापर्व मनाउनुको कारण पनि देश र जनताको कल्यार्णका लागि नै हो । तर, पुर्खाले जात्रापर्वलाई निरन्तर दिन राखेका कतिपय जग्गाजमिन रैतानीमा परिणत भए । कतिपय सरकारले आफैले बेचबिखन गरे । यसले प्रकृति र मानव जातिबीच सन्तुलनमा राख्न बनाइएका कतिपय जात्रापर्व हराइसकेका छन् । कतिपय हराउने क्रममा छन् । भक्तपुरका इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले भन्नुभयो, ‘तापक्रम बढनु, अल्प, खण्ड र अति वृष्टि हुनु वातावरण विनाशले मात्र नभई मानव जातिले आफ्नो धर्म संस्कृति बिर्सनाले पनि हो ।’

नेपालमा जात्रापर्व मनाउने चलन अझै बाँकी छ । पहिलकै धार्मिक नियम प्रचलन बमोजिम नै । विभिन्न समुदायमा जात्रापर्व चलाउँदै आएका सम्बन्धित व्यक्ति वा गुठीले नै चलाउनुपर्ने परम्परा छ । मन परेर होस्, या नपरेर । केही गरी रोकेमा व्यक्तिगत आचरणमा आच आउने र समाजबाट बहिष्कार हुने समेत डर छ । त्यसमाथि देवीदेवताका काम भएकाले दुखकष्ट गरेर चलाउने चलन छ । के यस्तैस्थितले कति सम्म लम्बिएला यी जात्रापर्वहरु ? बेलैमा राज्यको ध्यान जान जरुरी छ । नत्र चीनबाट होइन्, यस्ता भाइरस नेपालबाट उत्पन्न हुन बेर छैन ।


प्रतिक्रिया