एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट दर्ता

रेडियो कान्तिपुर संवाददाता

मंसिर १०, २०८२ | काठमाडौं

एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट निवेदन दर्ता भएको छ । एमाले संसदीय दलका तर्फबाट पेस गरेको निवेदन आज दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो ।

 सो रिटको पेसी आगामी पेसी मंसिर १७ का लागि तोकिएको कोइरालाले बताउनुभयो । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट निवेदन हिजो पेस गर्नुभएको थियो । 

रिटमा प्रधानमन्त्री सुशील कार्कीको नियुक्ति संवैधानिक नभएको दाबी गरिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिबाट भदौ २७ मा गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नुपर्ने रिटमा माग गरिएको छ ।

 एमालेले संविधानको धारा ७६ अनुसार सरकार गठनको नयाँ प्रक्रिया सुरु गर्ने गरी राष्ट्रपतिका नाममा परमादेश जारी गर्न पनि सर्वोच्च अदालतसँग माग गरेको छ । त्यस्तै प्रतिनिधिसभा पुनःस्थापना गरी बैठक बोलाउने व्यवस्था मिलाउन सभामुखलाई आदेश दिन माग पनि गरेको छ । यसअघि विभिन्न कानून व्यवसायीले प्रतिनिधिसभा विघटन विरुद्ध दायर गरेका १६ वटा रिट निवेदन सर्वोच्चमा विचाराधिन छन् ।  


प्रतिक्रिया