नक्कली पिएचडी देखाएर नियुक्ति लिएको घटनामा चार जना विरुद्ध भ्रष्टाचार मुद्धा

रेडियो कान्तिपुर संवाददाता

मंसिर १०, २०८२ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक छनोटका क्रममा नक्कली पिएचडी देखाएर नियुक्ति लिएको घटनामा चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सह–परीक्षा नियन्त्रक छनौट समितिमा रहेका संयोजक प्राध्यापक डाक्टर जया लक्ष्मी प्रधानसहित सदस्यहरु प्राध्यापक डाक्टर मोतिलाल शर्मा, प्राध्यापक डाक्टर मेघराज पोखरेल र झुटो पिएचडीको दावी पेश गर्ने तत्कालीन सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाई विरुद्ध अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

 झुटा विवरण पेश गरेर परीक्षाको परिणाम फेरबदल गराई गलत प्रतिवेदन सहित सिफारिस गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारको कार्यालयले गत वर्ष परीक्षा नियन्त्रण कार्यालयको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन निकालेको थियो । सो क्रममा ६ जनाको आवेदन परेको थियो । पदपूर्तीका लागि प्रधानको संयोजकत्वमा तीन सदस्य छनौट समिति गठन भएको थियो । 

पदको लाभ लिन झुटो विवरण पेश गरेको भन्दै प्रसाईं र त्यसलाई स्वीकार गर्दै नियुक्ति सिफारिस गर्ने अन्य तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा लागेको हो । 


प्रतिक्रिया