जेठ ५ सम्म पर्सामा निषेधाज्ञा, सेना परिचालन

वैशाख ३१, २०७७ | पर्सा

पर्सामा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको छ । एकैदिन ३९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएपछि प्रशासनले संक्रमण रोकथाम एवं नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा बसेको समिति बैठकले हिजो साँझ ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कोरोना संक्रमण अन्यत्र फैलन नदिन तथा रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन साँझ ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म पर्सामा निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने निर्णय भएको उल्लेख छ ।

भारतसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछुपी मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई ‘ऐरिया डोमिनेशन’ गर्ने र अन्य जिल्लाबाट यस जिल्लामा हुने मानिसहरुको आवतजावत समेत बन्द गर्ने निर्णय सुरक्षा समितिले गरेको छ । 

भारतबाट नेपाल आउने तरकारी ढुवानी गर्ने मालवाहक साधनलाई रजतजयन्ती चौकमा पल्टी गर्नुपर्ने छ । त्यस्तो तरकारीलाई अन्य जिल्लाको लागि मात्र ढुवानी गर्न दिने तर पर्सा जिल्लाको लागि ढुवानी तथा विक्री वितरण गर्न नदिने जनाइएको छ ।

यसैबीच, बारामा पनि आज विहान ६ बजे देखी निषेधाज्ञा जारी गरिएको छ । हालसम्म ३ जनामा मात्र कोभिड संक्रमण देखिएपनि छिमेकी पर्सामा संक्रमण दर उच्च रहेपछि बारा प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको हो । 


प्रतिक्रिया