पुनर्निर्माणका लागि पालना गर्नुपर्ने मापदण्ड तयार

जेष्ठ १६, २०७७ | काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका कामहरु गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड तयार पारेको छ । मापदण्डलाई आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो ।

 मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लागयतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका कामहरुलाई सुचारु गर्दा कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकारवाला पक्षको भूमिका उल्लेख गरिएको छ । 

मापदण्ड अनुसार कामदारलाई काममा लिनु अघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा एकीन गर्ने, परीक्षणको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ । 

प्रत्येक कामदारलाई संक्रमण जोखिमबाट बच्ने उपायहरुको बारेमा स्पष्ट पार्न काममा लगाउनु पूर्व कोरोना भाइरस सम्बन्धी सामान्य जानकारी, भाइरस संक्रमण हुने प्रक्रिया, संक्रमित व्यक्तिमा देखा पर्न सक्ने लक्षण र संक्रमण जोखिम रोकथाम र नियन्त्रण सम्बन्धमा अपनाइनु पर्ने उपायहरुबारे जानकारी गराउनु पर्नेछ । 

यस्तै खाद्य आपूर्ति तथा ज्याला भुक्तानी, कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, अनुगमन सम्बन्धी मापदण्ड पनि तोकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताउनुभयो ।   


प्रतिक्रिया