अहिलेसम्म प्रदेश २ र ५ मा सबै भन्दा धेरै कोरोना संक्रमित भेटिए

जेष्ठ १७, २०७७ | काठमाडौं

विभिन्न १४ जिल्लामा गरी आज एकै दिन एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कपिलवस्तुका १ सय ९, सर्लाहीका १७, दैलेखका १४ जना, सिरहाका ११, सप्तरीका ९, धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, पर्साका २, संखुवासभाका २, झापाका १, ललितपुरका १ र बाराका १ गरी एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रदेश नम्बर एकमा ३०, २ मा १ सय ४ , बागमती प्रदेशमा २८, गण्डकीमा ३ , प्रदेश ५ मा २८ र सूदुरपश्चिममा ६ जना गरी २ सय १९ जना डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले अहिलेसम्म प्रदेश नम्बर २ मा ५ सय ४७ र ५ मा पनि सोही संख्यामा ५ सय ४७ जना कोरोना संक्रमित पुष्टि भएको बताउनुभयो ।

सरकारले २ सयमा सीमित राख्ने दाबी गरेको कोरोना संक्रमितको संख्या एक हजार ४ सय नाघीसकेको छ । ७७ मध्ये ५३ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । विभिन्न जिल्लामा संकलन गरिएको स्वाब राख्ने भाँडो भिटिएम अभाव भएको समाचार आइरहँदा स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाएको जनाएको छ । 

हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ जनाको परीक्षण गरिएको मन्त्रालयको बेव साइटको तथ्यांकमा उल्लेख छ । यस्तै आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको परीक्षण गरिएको छ । क्वारेन्टाइनमा एक लाख १० हजार ७८ जना रहेका छन् भने एक हजार १ सय ७६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया