दाङमा दुई स्वास्थ्यकर्मीसहित थप नौ जनामा कोरोना

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर 

जेष्ठ १८, २०७७ | दाङ

क्वारेण्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित जिल्लामा आज थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा गढवा गाउँपालिकाले सञ्चालन गरेको जनता मावि क्वारेण्टाइनमा खटिएका लमही नगरपालिका १ का ४० बर्षीय र राप्ती गाउँपालिका ८ का ३६ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।

लकडाउन भएपछि दुवै स्वास्थ्यकर्मी घर नगएको र हालसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले बताउनुभयो । यसैगरी गढवाको उक्त क्वारेण्टाइनमा बसेका गढवा ६ का ३६ बर्षीय र गढवा ७ का २४ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

दुवै जना भारतबाट आएर क्वारेण्टाइनमा बसेका थिए । गढवामा जिल्लामै पहिलोपटक भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि अन्यमा पनि संक्रमण फैलिएको हो । चारै जनालाई कोरोना बिशेष अस्पताल बेलझुण्डी पठाइसकेको चौधरीले जानकारी दिनुभयो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाका पाँच जनामा पनि कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा तुलसीपुर ६ का २० बर्षीय, १५ का ३२ बर्षीय र १६ का १८, २० र २३ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताउनुभयो । उनीहरु भारतबाट आएर तुलसीपुरको गुरुजजुर मावि रक्षाचौर क्वारेण्टाइनमा बसेका थिए । 

उनीहरुलाई पनि कोरोना बिशेष अस्पताल बेलझुण्डी पठाइएको तुलसीपुरका जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताउनुभयो । योसँगै दाङमा संक्रमीतहरुको संख्या ३७ पुगेको छ । तीमध्ये गढवाका एक र तुलसीपुरका एक पुरुष उपचारपछि कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिष्ठानमा हालसम्म ३ हजार ८ सय २८ नमूना संकलन भएकोमा २ हजार ५ सय ६९ परिक्षण भएको देवले बताउनुभयो । तीमध्ये १ सय ६ मा पोजिटिभ र २ हजार ४ सय ६३ मा नेगेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । अझै १ हजार २ सय ५९ नमूना परिक्षणकै प्रक्रियामा रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानमा प्रदेश ५ का बिभिन्न जिल्लाको नमूना संकलन भैरहेको छ ।


प्रतिक्रिया