३ स्वास्थ्यकर्मी सहित पर्सामा थप १० जनामा कोरोना

असार १, २०७७ | वीरगञ्ज

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा पर्साका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार आज एक महिला सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ९ जना विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एकजना पटेर्वासुगौली गाउँपालिकाको रहेको डा.उपाध्यायले बताउनुभयो । विन्दवासनी गाउँपालिकाका स्वास्थ्य प्रमुख चौहानका अनुसार ९ जना संक्रमित मध्ये तीन जना स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी हुन् । 

भारतबाट फर्किएकाहरुलाई राख्न गाउँपालिकाले झौवागुठीमा निर्माण गरेको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगी संक्रमित भएको उहाँले बताउनुभयो । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो । 

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तैयारी भइरहेको स्वास्थ्य प्रमुख चौहानले बताउनुभयो । यसअघि हिजो पनि सोही क्वारेन्टाइनमा राखिएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 


प्रतिक्रिया