नेकपाको स्थायी समिति बैठक बस्दै

असार १८, २०७७ | काठमाडौं

– सत्तारुढ नेकपाको स्थायी समिति बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज पनि बस्दैछ । सरकारको नियमित काम कारबाही, भारतसंगको सीमा विवाद, एमसीसी कार्यन्वयन लगायत विभिन्न एजेण्डामा छलफल गर्ने भनिए पनि स्थायी समिति बैठक पछिल्लो समय प्रधानमन्त्रीको राजीनामामा केन्द्रीत भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली सरकार र पार्टी सञ्चालन दुबै तर्फ असफल भएको भन्दै अधिकांश सदस्यले राजीनामा मागेपछि नेकपा चरम आन्तरिक किचलोमा फसेको छ ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको गुटगत भेला जारी छ । दाहाल र नेपाल पक्षले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन लगाउने सम्मको रणनीति तय गरेका छन् भने प्रधानमन्त्री ओलीले आवश्यक परे संसदीय दलकै पनि सामना गर्ने र पार्टी फुटाउन अध्यादेश ल्याउने सम्मको तयारी गरेको श्रोतहरुको दावी छ । पार्टी भित्रको अन्तरविरोध र शक्ति संघर्ष चरम उत्कर्षमा पुगिरहँदा स्थायी समिति बैठक छोट्याएर दुबै पक्षले हिजो गुटगत भेला तिव्र पारेका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टी भित्रको अन्तरविरोधकै विषयमा छलफल हुने स्थायी समिति सदस्य मणी थापाले जानकारी दिनुभयो । स्थायी समिति बैठक राष्ट्रिय राजनीतिका महत्वपुर्ण विषयमा भन्दा पनि सत्ता र व्यक्ति केन्द्रीत भएको भन्दै मध्यमार्गी धारका नेताहरुले भने आलोचना गरेका छन् ।

यसैबीच प्रधानमन्त्री निकट केही नेताहरुले अहिले अध्यक्ष पुष्पकमल दाहालसंग छुट्टै भेटवार्ता गर्दैछन् । दुई अध्यक्षबीच देखिएको असमझदारी कम गर्ने प्रयास स्वरुप छलफल गर्न लागिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । 


प्रतिक्रिया